काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई बैठकका लागि डाकेका छन् । श्रोतका अनुसार उनले कोशीका विषयमा छलफल गर्न उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई आज(सोमबार) अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बोलाएका हुन् ।
उक्त बैठकमा कोसी प्रदेशमा पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुने जनाइएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याएपछि नेता डा.शेखर कोइराला पक्षले विद्रोह गरेको थियो । र, कोइराला निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बने ।
यतिबेला कार्की दसैँअघि नै विश्वासको मत लिने हतारोमा छन् । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कोसी प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बुधबारका दिन बोलाएको छ । र, सोहि दिन विश्वासको मत लिनकै लागि प्रदेशसभा बैठक बस्न लागेको जनाइएको छ । यसै विषयलाई लिएर पनि देउवाले बैठक बोलाएको अनुमान गरिएको छ ।
कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।