काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि बुधबार रातिदेखि मतदान हुनेभएको छ । मध्यरातदेखि अनलाइन मतदान सञ्चालनमा आएपछि एनआरएनएको निर्वाचन सुरु हुनेछ । प्रत्यक्ष मतदान भने बिहीबार बिहान काठमाडौंमा हुनेछ । ७४ जना नयाँ कार्यसमिति सदस्य छनौटको लागि एक सय २० जनाको उम्मेदवारी परेको छ । मतदाताहरूले बुधबार रातिबाट उनीहरूलाई मतदान गर्नेछन् । मतदाताहरूले अध्यक्षका लागि बलियो मानिएका बद्री केसी (रसिया), रविना थापा (अमेरिका), महेशकुमार श्रेष्ठ (जापान) र आरके (राजेन्द्रकुमार) शर्मा (कतार)लाई मतदान गर्न सक्नेछन् ।
उम्मेदवारीहरूबीच तीव्र प्रतिस्पर्धा हुने अनुमानका बीच संघभित्रै राजनीतिक खिचातानीका कारण निर्वाचन प्रभावित हुने देखिएको छ । नेपाली कांग्रेसनिकट मानिएका श्रेष्ठलाई समर्थक मानिएका अध्यक्ष कुल आर्चायले सहयोग नगरेपछि श्रेष्ठ समस्यामा परेका छन् । आर्चाय कांग्रेसनिकट व्यक्ति भए पनि उनले श्रेष्ठलाई सहयोग नगरी कार्यकारी अध्यक्ष केसीको समर्थनमा लागेका छन् । यही कारण निर्वाचनको नतिजा फरक आउनसक्ने आकलन गरिएको छ । अन्तिम समयमा आएर आचार्यले केसीलाई सहयोग गरेका छन् । केसी एमालेनिकट मानिन्छन् । उनलाई एमालेनिकट प्रावसी नेपाली मञ्चले अघि सारेको हो ।
कांग्रेसनेताहरूको सहयोगमा श्रेष्ठ संघको नेतृत्व अगाडि बढाउने तर्खरमा छन्् । कांग्रेसबाट हालका महासचिव डा. केशव पौडेल पनि अध्यक्षका आकांक्षी रहेकोेमा पार्टी नेताहरूले उनलाई थामथुम पारेको बुझिएको छ ।
अर्का अध्यक्षका प्रतयासी आरके शर्मा (राजेन्द्रकुमार) भने माओवादीनिकटका हुन् । उनलाई अध्यक्ष पदका लागि माओवादीले अघि सारेको हो । शर्मामा विवादित छवि भएका व्यक्ति हुन् । मध्यपूर्वको मतको आधारमा आफूलाई उभ्याएका शर्मालाई अमेरिका र युरोपका मतदाताले विश्वास नगर्ने संघका पदाधिकारीहरू बताउँछन् ।
बुधबार एनआरएनएलाई प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता दिएका थिए । यसपछि कतिपयले प्रधानमन्त्री दाहालको आलोचना गरिरहेका छन् ।
एनआरएनलाई टाठाबाठाहरूको संघ भएको आरोप लाग्दै आएको समयमा उनीहरूलाई नागरिकता दिनुले सरकारले एकै व्यक्तिलाई दुई मुलुकको नागरिकता दिएर समस्या उत्पन्न गरेको रूपमा आलोचना भएको हो । त्यसो त वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू संघमा आबद्ध भएको र उनीहरूले आफू कार्यरत मुलुक र नेपालको दोहोरो नागरिकता तथा पासपोर्ट लिनेगरेका छन् ।
संघका पदाधिकारी नेताहरूको नजिक रही दोहोरो नागरिकता तथा पासापोर्ट लिन सफल भएका छन् भने वैदेशिक रोजगारीमा गएका नागरिकमाथि नेतागिरी गरी, शोषण गरी हालुमुहाली समेत गर्दै आएका छन् ।
संघले निर्वाचनको समयमा बर्मा, थाइल्याण्डलगायतका मुलुकमा रहेका गैरआवसीय नेपालीलाई भने मतदान अधिकारबाट वञ्चित गरेको छ । संघको इतिहासमै पहिलो पटक ‘फेसियल भेरिफिकेसन’मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन् ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिनेमा विनोद श्रेष्ठ, विजय मोक्तान, चिरञ्जीवी घिमिरे, धर्मराज अधिकारी, गणेश केसी, गंगाधर गौतम, गोविन्दप्रसाद श्रेष्ठ, हेमराज शर्मा, जेदु पोखरेल, केशव पौडेल, खगेन्द्र न्यौपाने, अभिमानसिंह बस्नेत, नारायण आचार्य, राजु रेग्मी (राज), रामशरण सिंखडा, रोविनप्रसाद शेरचन, शशिकान्त पौड्याल र सुनिल शाह छन् ।
महिला उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा रोजिना प्रधान राई र यसमिन बेगम सायिद छन् । युवा उपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाको उम्मेदवारी परेको बताइएको छ ।
महासचिवका लागि दुई जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महासचिवका लागि हालका महासचिव गौरीराज जोशी र एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्ष वुद्धिसागर सुवेदीको उम्मेदवारी परेको हो । उपमहासचिवका दुई पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रवीन गुरुङ, प्रमोद सिटौला, कृष्ण गिरी, सन्तोषकुमार भट्टराई र सोमनाथ सापकोटा छन् ।
सचिवका छ पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । भीम केसी कमल, मनोजकुमार श्रेष्ठ, दयानिधि सापकोटा, केपी सिटौला, कृष्णजीवी पन्थ, लोकप्रसाद दाहाल, नवराज रोस्यारा, ज्ञानेन्द्र रेग्मी, पारसमणि पोखरेल, टंकप्रसाद गैरे, प्रकाश सापकोटा, राजेन्द्रप्रसाद पुडासैनी, यज्ञराज सुवेदी, स्वतन्तत्रप्रताप शाह र रामचन्द्र पोखरेल छन् । महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । सचिवको उम्मेदवारी दिनेमा विमला सापकोटा र राधिका गुरुङ रहेका छन् । यसैगरी कोषाध्यक्षका लागि सुदनकुमार थापा र ठाकुरप्रसाद ढुंगानाले उम्मेदवारी दिएका छन् ।
सहकोषाध्यक्षका तीन पदमा छ जना, महिला सहकोषाध्यक्षमा दुई जना, महिला संयोजकमा दुई जना र युवा संयोजकका दुई जनाको उम्मेदवारी परेको छ । सहकोषाध्यक्षमा ददिवल खड्का, सिपि पौडेल, कृष्णप्रसाद तिमिल्सिना, अभिमन्यू बस्नेत, मोहम्द मुक्तडा र तिलकप्रसाद गैरको उम्मेदवारी परेको छ । महिला सहकोषाअध्यक्षमा अमृता थापा र तृष्णा शर्माको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्तामा उम्मेदवारसहित दुई/दुई जना प्रस्ताव र समर्थकको व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार केही उम्मेदवार भने निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
सन् २००३ अगस्टमा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ संघ स्थापना गरिएको थियो । दुई दशकको यस अवधिसम्म आइपुग्दा नेपालीहरूको उपस्थिति भएका ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न संघ सफल भएको छ । विश्वभरबाट ९६ हजार आठ सय ५० जना पञ्जीकृत सदस्य संघमा आबद्ध भएका छन् ।