काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
सोमबार दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी) देवीभागवत एवं देवी स्तोत्र पाठ गरी मनाइँदै छ ।
काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न सोमबार महानवमीका दिन ठूलो सङ्ख्याका नागरिक पुगेका थिए ।
यसैगरी उपत्यका बाहिर नवलपुरको मौलाकालिका, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरी लगायतका शक्तिपीठमा पुजा पाठ गर्ने तथा पशुवली दिने भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको थियो ।
सोमबार नवमीका दिन देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले दिनभर जसो शक्तिपीठमा भक्तनहरुको भीड लागेको थियो । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।
यसैबीच काठमाडौँ उपत्यकाका शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङकटा, नक्साल भगवती, नरदेवीलगायत शक्तिपीठमा रङगीचङगी बत्तीहरुले सजाइएको छ । यी शक्तिपीठमा नागरिकहरु बिहानदेखि रातिसम्म नै पूजाआजाका लागि पुग्ने गरेका छन् ।