काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ करोड ५० लाख रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै उक्त परिमाणमा रकम लगानीको लागि प्रस्ताव गरेको हो । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको यो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले निक्षेपको रुपमा प्रयोग गर्न पाउनेछन् ।
निक्षेप लिन इच्छुक र योग्य बैंक तथा वित्तीय संस्थाले कात्तिक २० गतेसम्म आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याज तोकेर आवेदन दिनुपर्नेछ । रकम तीन सय ६६ दिन अर्थात् २०८० मंसिर एकदेखि २०८१ मंसिर एक गतेसम्म निक्षेप लैजान पाउने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकमा १५ करोड ६० लाख रुपैयाँ, विकास बैंकमा दुई करोड ९२ लाख ५० हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुमा ९७ लाख ५० हजार रुपैयाँ निक्षेप राख्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले निक्षेप लिनका लागि विभिन्न सर्त पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ । निक्षेप लिन प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुर्ने सर्तहरु राखेको छ ।
यसबाहेक कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।