अमेरिका, वैशाख ३१
अर्बपति तथा टेस्ला कारका प्रमुख एलन मस्कले क्यालिफोर्निया राज्यमा रहेको मुख्य कार प्लान्ट खोलेका छन् । स्थानीय नियमअनुसार नपाइने भए पनि उनले कार प्लान्ट खोलेको बीबीसीले जनाएको छ । सोमबार प्रमुख कार्यकारी मस्कले सामाजिक सञ्जाल ट्विटरबाट कार उत्पादन पुनः सुरु भएको जानकारी दिएका हुन् ।
आफ्नो कारखाना बन्द गरे राज्यबाटै फ्याक्ट्री सार्ने चेतावनी उनले केही दिनअघि दिएका थिए । उनले कोरोनाभाइरसका कारण जारी लकडाउनको खुलेर विरोध गर्दै आएका छन् । उनले लकडाउन अन्त्य गर्न सार्वजनिक आह्वान गर्दै आएका थिए । क्यालिफोर्नियाका विभिन्न काउन्टीले लकडाउन खुकुलो पारे पनि मस्कको कारखाना रहेको अलामेदाले भने कडाइ गरिरहेको छ । शनिबार मात्रै उनले टेस्लाले काउन्टीविरुद्ध अदालतमा मुद्दा समेत हालिसकेको छ । स्थानीय प्रहरीले यसबारे जानकार रहेको बताएको छ ।
उक्त काउन्टीको पब्लिक हेल्थ डिपार्टमेन्टले सोमबार टेस्लासँग सहकार्य गरिरहेको जनाएको छ । उसले अन्य व्यवसायलाई जस्तै टेस्लालाई पनि आवश्यक कदम चाल्ने बताएको छ । त्यस्तै अन्य कार कम्पनीले भने मेदेखि मात्रै प्लान्ट खोल्ने बताएका छन् ।