हुम्ला । सीमा सुरक्षा प्रहरी चौकी हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हुँदा नाम्खा–६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन भएको बताए। उनले भने, “गत जेठ दोस्रो हप्ता लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।
उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ सुरक्षाकर्मी खटिएका थिए । नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो ।