गलकोट (बागलुङ) । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठूलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ । आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका हुन् ।
मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले जन्मजात वा अन्य कारणबाट मुटुमा समस्या देखिएको सानै उमेरमा पत्ता लगाउनसके मुटुलाई बचाउन सकिने भन्दै देशभरका बालबालिकाको मुटु परीक्षण अभियान चलाइएको बताए । उनले मुटु रोगसम्बन्धी सचेतना जगाउन अभियान थालिएको बताउँदै मुटु जोगाउन खानपान, आनीबानीमा सुधार हुनुपर्ने बताए ।
डा. रेग्मीले स्वास्थ्यमा समस्या आएपछि मात्रै परीक्षण गर्ने नेपालीको बानी भएका कारण अन्तिम अवस्थामा मुटु बचाउन नसक्दा धेरैको ज्यान गएको बताए । मुटुको चाल सुनेरै मुटुरोग चिकित्सकले मुटुको अवस्था बुझ्न सक्ने डा. रेग्मीले बताए ।
हालसम्म दुई लाख बालबालिकाको मुटु परीक्षण गरिसकेको बताउँदै नेपालका ४० जिल्लामा उक्त अभियान पुगिसकेको उनको भनाइ छ । बालबालिकाको मुटुमा प्वाल पर्ने समस्या धेरै हुने र बर्सेनि तीन हजार बालबालिका मुटुको समस्याबाट मृत्यु भइरहेको उनले बताए ।