देउखुरी (दाङ) । लोपोन्मुख कुसुन्डा जातिको भाषा तथा संस्कृतिको संरक्षण, उजागर एवं विकासमा सबैले हालेमालो गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जोड दिएकी छिन् ।
शुक्रबार सरकारका प्रवक्ता एवं मन्त्री शर्माले अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार गरिएको वृत चित्रको बिमोचन गर्दै कुसुन्डा भाषाको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सो अवसरमा आलेले पाँच वर्ष लगाएर तयार पारेको कुसुन्डा समुदायको वेशभूषा, भाषा, संस्कार, संस्कृति र रहनसहन समेटिएको १९ मिनेटको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
लोप हुन लागेका भाषा संरक्षण गरेर पछिल्लो पुस्तामा हस्तान्तरण गर्न सहयोग गरेको भन्दै सञ्चारमन्त्री शर्माले अनुसन्धानकर्ता उदय आलेलाई धन्यवाद दिइन् । उनले लोपोन्मुख कुसुन्डा भाषा संरक्षणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँइन् ।
मन्त्री शर्माले कुसुन्डा भाषाको पूर्ण वक्ता ज्ञानीमायाको मृत्युपश्चात् अर्का पूर्ण वक्ता कमला सेन खत्रीले भाषालाई बचाइराखेको कारणले गर्दा भाषा जीवित रहेको र यो भाषालाई संरक्षण गर्न पछिल्लो पुस्ता तयार भएको देख्दा खुसी लागेको बताइन् ।
२०७८ को जनगणनामा दुई सय ५३ उल्लेख गरिए पनि नेपालभरमा वास्तविक सङ्ख्या एक सय ६२ जना रहेको बताउँदै कुसुन्डा भाषाको अनुसन्धानकर्ता उदयराज आलेले कुसुन्डा भाषाको महत्त्व बुझाउन जरुरी रहेको बताए । बाबुआमाले छोराछोरीलाई सिकाउने प्रचलन अन्य भाषामा रहेको छ भने कुसुन्डाको बच्चाले आफ्नो भाषा सिकेर बाबुआमा वा घरपरिवारलाई सिकाउनुपर्ने अवस्था रहेको उनले बताए ।
भाषा संरक्षणका लागि चारवटा पाठ्य पुस्तक अनुसन्धानकर्ता उदयराज आलेले तयार गरेका छन् । कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले भाषा संरक्षणका लागि नेपाल सरकारले सहयोग गरेकाले पछिल्लो पुस्ताले पढ्न सक्ने भएको बताए । उनले कुसुन्डा भाषाका नागरिक छरिएर रहेको भन्दा एकै स्थानमा बसोबास गर्ने वातावरण भयो भने अझ राम्रो हुने बताए ।