झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् ।
मलेसियाको नेपाली जनसम्पर्क समितिले अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर आइपुगेको जानकारी दिए ।
सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए ।
नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु. एक लाख चार हजार एक सय ६० तिर्नुपरेको जानकारी दिए ।
१९ वर्षको उमेरमा विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर मलेसिया गएका गोपाल अहिले घर फर्किँदा उनी ३७ वर्षको भइसकेका छन् । मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो । त्यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।