काठमाडौं । प्रा.डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डा.केसीले आज(आइतबार) विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
राष्ट्रिय ट्रमा सेन्टरले शनिबार गरेको एक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले डा.केसी मेडिकल गिरोहबाट सञ्चालित रहेको आरोप लगाएका थिए भने डा.केसीको आन्दोलनमा सहभागी हुने चिकित्सक र कर्मचारीलाई कारबाही गर्ने धम्की दिएका थिए । सोही विषयलाई लिएर डा.केसीले आफूमाथि स्वास्थ्य मन्त्रीले ‘घोर आपत्तिजनक अभिव्यक्ति’ दिएको भन्दै विज्ञप्ति जारी गरेका हुन् ।
उनले मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाउँदै पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका छन् ।आफूमाथि मन्त्री बस्नेतले लगाएका आरोप कपोलकल्पित र झुठा रहेको भन्दै उनले, ‘शेरबहादुर देउवा र प्रचण्ड जीका स्वास्थ्य मन्त्री माफीयाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बरखिलाफ हो, निजलाई तत्काल पदमुक्त गरियोस्’, विज्ञप्तिमार्फत भनेका छन् ।
गुणस्तरीय, निःशुल्क, सस्तो, सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्न र सुशासनका लागि आफू संघर्षरत रहेको डा.केसीले बताएका छन्। सिटिइभिटीअन्तर्गत मापदण्ड नपुगेका र विगतमा नियम मिचेर सञ्चालन गरेका नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कलेज तथा शिक्षालयलाई सम्बन्धन र सञ्चालन अनुमति दिन र दिलाउन विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, संसदको स्वास्थ्य तथा शिक्षा समितिका सांसद र माफिया तथ्यहिन हल्ला फैलाएर दबाब सिर्जना गर्न लागिपरेको उनको भनाइ छ ।
‘माफियाहरुको तर्फबाट स्वास्थ मन्त्रीको यो थप नयाँ प्रयास हो । डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् विदेशीनु पर्यो, भारतको सिमाना क्षेत्रमा धेरै नर्सिङ कलेज खोले भन्ने जस्ता तथ्यहिन हल्ला फैलाइयो । नेपालमा चिकित्सा शिक्षा ऐन निर्माण भएयता विदेशमा पढ्न जानेको संख्या गुणात्मक रूपमा कम भएको छ भने कति निजी मेडिकल कलेज, नर्सिङ र अन्य स्वास्थ्यसम्बन्धी विषयका शिक्षालयहरूका सिटहरू भर्ना हुने विद्यार्थीहरु नपाएर खाली गई रहेको कुरा सिटिइभिटीअन्तर्गतका निजी शिक्षालयहरूले गोरखापत्रलगायतका पत्रिकाहरूमा भर्नाको लागि पुनःदोर्होयाई–तेर्हयाई विज्ञापन गर्नुले दर्जनौं सिट विद्यार्थीहरु नपाएर खालि गइरहेको कुरा प्रमाणित हुन्छ’, डा.केसीले भनेका छन्। सरकारी निकायको टोलीले स्थलगत अनुगमन गरेर भारततिर कुनै नयाँ नर्सिङ कलेज स्थापना नभएको प्रतिवेदन दिएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ।
‘पद सम्हालेयता स्वास्थ्य मन्त्रीले मर्यादाविपरीतका क्रियाकलाप गरी आइरहेका छन्। सुरूदेखि नै स्वास्थ्य मन्त्री माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन्। सम्बन्धित निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्’, उनले भने, ‘मन्त्रीले बुझ्ने क्षमता छ भने के बुझ्नु पर्छ भने अहिले नेपालमा राणातन्त्र वा पञ्चायततन्त्र छैन । प्रजातान्त्रिक मूल्य मान्यताअनुसार चल्नुपर्छ ।’
स्वास्थ्य मन्त्रीले गैरलोकतान्त्रिक क्रियाकलाप गरे प्रधानमन्त्री प्रचण्ड जवाफदेही हुनुपर्ने भन्दै उनले विगतका सरकारहरू र आफूहरूबीच भएका सम्झौता कार्यान्वयन गर्न मंसिर २८ गतेसम्म समय दिइएको पनि बताएका छन्। उनले माग पूरा नभए मंसिर २९ गतेदेखि थप कडा मागसहित सत्याग्रहलगायत कार्यक्रमसहित सशक्त आन्दोलन सुरू गर्न बाध्य हुने उल्लेख गरेका छन् ।