विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डीबी क्षेत्री पुरस्कृत भएका छन् । १२ औँ कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले देशभर रहेका आन्तरिक राजस्व कार्यालय प्रमुखको कार्यसम्पादन एवम् मूल्याङ्कनलाई आधार मानेर छनौट गर्दा उनी उत्कृष्ट कर अधिकृत घोषित भएका हुन् ।
आन्तरिक राजस्व विभागले एक कार्यक्रमको आयोजना गरि क्षेत्रीलाई नगदसहित सम्मानपत्रद्वारा पुरकृत गरेको थियो । अर्थमन्त्री प्रकाशशरण महतले क्षेत्रीलाई पुरस्कृत गरेका थिए । पछिल्लो समय विश्वव्यापीरूपमा आएको मन्दीका कारण मुलुकभर सरकारले लिएको लक्ष्यअनुसारको राजस्व संकलन समेत नभएको अवस्थामा आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत क्षेत्रीले आफ्नो लक्ष्यको ९० प्रतिशत राजस्व असुली गर्न सफल भएपछि उनी उत्कृष्ट कर अधिकृतमा छनौट भएको बताईएको छ । डा क्षेत्रीले मोरङका दुई ठूला उद्योगको कर छलिका सम्बन्धमा सूक्ष्मरूपले अनुसन्धान गरी करिब चार अर्ब राजस्व समेत असुली गर्न सफल भएका थिए । सोही कार्यपछि नै प्रमुख कर अधिकृत क्षेत्री विभागीय मूल्याङ्कनमा परेको बताइएको छ ।
साथै, सो राजस्व असुलीका कारण नै ३७ औँ नम्बरमा रहेको आन्तरिक राजस्व कार्यालय विराटनगरलाई आन्तरिक राजस्व विभागले छैटौँ नम्बरमा ल्याएको थियो । लामो समयदेखि मुुद्दामा समेत गएको उक्त उद्योगलाई प्रमुख कर अधिकृत क्षेत्रीको प्रयासले करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालय विराटनगर सफल भएको थियो ।