काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित भिडियो प्रतियोगितामा नेपाल प्रहरीले बनाएको भिडियो पहिलो भएको छ । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको सूचनामूलक भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो ।
उनीहरुले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलिजेन्सका कारण भविष्यमा आउन सक्ने समस्याहरूको समाधान र दिगो विकासको लक्ष्य प्राप्त गर्न इन्टरपोलको भूमिका समेटिएको ‘लेट्स सेभ द प्लानेट–इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो बनाएका थिए । इन्टरपोलले युवा प्रहरी अधिकृतबीच यस्तो भिडियो प्रतिस्पर्धाको आयोजना गरेको थियो ।
मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका एक सय ९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । सो अवसरमा इन्टरपोलका अध्यक्ष मेजर जनरल डा.अमहद नासेर अल–राइसीबाट नेपाल प्रहरीलाई सर्वोत्कृष्ट भिडियो बनाएबापत सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ ।
महासभामा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, नेपाल प्रहरीका एसपी अनुपमशमशेर जबरा तथा इन्टरपोलको सय वर्षको अवसरमा सगरमाथा आरोहण गर्ने वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली सहभागी छन् ।