दोलखा । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा १० दिने बृहत् दोलखा महोत्सव हुने भएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरी आगामी पुस १३ गतेदेखि २२ गतेसम्म महोत्सव आयोजना गर्ने जानकारी दिएको हो ।
जिल्लाको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनहरूको प्रदर्शन गरी प्रचारप्रसार तथा बिक्रीवितरण गरिने मुख्य उद्देश्यले महोत्सव गर्न लागिएको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्ने, कृषि उत्पादन तथा प्रविधिको जानकारी गराउने, विश्व समुदायमा विकास भएका नयाँनयाँ उत्पादन तथा टेक्नोलोजीहरूको जानकारी गराउने, जिल्लाका धार्मिक सांस्कृतिक भेषभुषा, रीतिरिवाज, खानपान आदिको प्रचारप्रसार गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सवमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक झाँकीहरूको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याती कमाएका कलाकारहरूको सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादन तथा पर्यटकीय स्थलहरूको वृत्तचित्र प्रदर्शनी गरिने छ । यस्तै, चरिकोट टुँडीखेलदेखि भ्युटावर हुँदै देउरालीसम्म घोडचढी सञ्चालन गरिने संघले जनाएको छ । महोत्सवमा वाल उद्यान विभिन्न मनोरञ्जनका खेलहरू सञ्चालन गरिनेछ भने विद्यालयस्तरीय नृत्य प्रतियोगिता, जिल्लास्तरीय लोकदोहोरी तथा जातीय भेषभुषा प्रतियोगिता र विभिन्न खेलकुद प्रतियोगिता गरिनेछ । यस्तै, उत्कृष्ट कृषक तथा उद्यमीहरूलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको छ । साथै, दोलखाको समग्र विकासका लागि नौवटै स्थानीय तहहरूसँग आर्थिक बहस सञ्चालन गरिने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति र विद्यार्थीका लागि सम्पूर्ण कार्यक्रमहरूमा विशेष छुटसहितको प्याकेजसमेत सञ्चालन गरिनेछ । स्थानीय उद्यमी व्यवसायीहरूलाई स्टल बुकिङमा समेत विशेष छुट प्रदान गरिने संघले जनाएको छ । सो कार्यका लागि दोलखा उद्योग वाणिज्य संघको भवनमा महोत्सवको छुट्टै सचिवालयसमेत गठन भइसकेको जनाइएको छ ।