चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्घता व्यक्त गरेका छन् । चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताएका हुन् ।
राष्ट्रिय भूमि आयोगको कामलाई कुनैपनि हालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताउँदै उनले भने, ‘भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने जुन उद्देश्य राखेका छौँ हरहालतमा त्यो पूरा गरी छाड्ने सङ्कल्प गरेका छौं ।’
उनले सङ्कल्प र प्रतिबद्घता गरेर मात्रै नभई यसमा देखिएका समस्याको समाधानका लागि कानुन संशोधन गरेर भए पनि भूमिहीन किसानको समस्या समाधान गरि छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका कार्यवाहक अध्यक्ष मेघबहादुर बिसीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति थियो । भोलि(आइतबार) मञ्चको नयाँ नेतृत्व चयन गरी सम्मेलन सम्पन्न हुनेछ ।