विराटनगर । विराटनगरमा प्रयोगमा आइसकेको अन्तःशुल्कको स्टिकर जम्मा गरी पुनः प्रयोगका लागि बिक्री गर्ने गरेको पाइएको छ । प्रहरीले सो कार्यमा संलग्न मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सीया बजारका ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई पक्राउ गरेको छ ।
राजवंहीले प्रयोगमा आइसकेको अन्तःशुल्कको स्टिकर जम्मा गरी पुनः प्रयोगका लागि बिक्री वितरण गर्ने गरेको पाइएकाले पक्राउ गरी आन्तरिक राजस्व कार्यालय विराटनगरलाई बुझाएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । प्रहरीका अनुसार राजवंशीलाई शनिबार साँझ अन्तःशुल्क स्टिकर जम्मा गर्दैगर्दा पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी राजवंशीलाई कर्सिया बजारमा रहेको उनकै केशव किराना पसलबाट पक्राउ गरेको हो । विभिन्न ब्राण्डमा उत्पादित गुट्खालगायतका सुर्तीजन्य पदार्थको प्याकेटमा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनको किराना पसलबाट छापा हानेको थियो ।
सो क्रममा एकपटक प्रयोग भइसकेको अन्तःशुल्क स्टिकर पुनः प्रयोग गर्ने गरी संकलन भएको फेला पारेको प्रहरीले जनाएको छ । यसरी पुनः प्रयोगका लागि तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परेपछि राजवंशी रंगेली प्रहरीले पक्राउ परेको थियो । प्रहरीले उनको पसलबाट रेडिमेड टोबाक्को लेखिएको तीन हजार एक सय ४० थान अन्तःशुल्क स्टिकर समेत बरामद गरेको छ । प्रहरीले पक्राउ परेका राजवंशीलाई थप अनुसन्धान एवम् कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा डीवी क्षेत्रीका अनुसार प्रारम्भिक अनुसन्धानबाट गुट्खालगायत सुर्तीजन्य पदार्थको प्याकेटमा एकपटक प्रयोग भइसकेको स्टिकर निकालेर पुनः प्रयोगका लागि उनले पठाउने गरेको देखिन आएको छ ।
उक्त स्टिकर राजवंशीले कहाँ र कसलाई पठाउँथे भन्ने बारेमा भने अझै खुल्न बाँकी रहेको प्रमुख कर अधिकृत क्षेत्रीले बताए । यसरी प्रयोग भइसकेको स्टिकर निकाल्दै गुट्खाको खोल र मदिराको बोतललगायतमा पुनः टाँसेर राजस्व छली गर्ने गरिएको हो कि होइन भन्ने अनुसन्धान भइरहेको उनले जानकारी दिए । गुट्खा, मदिरालगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर मात्रै बजारमा पठाउन पाइन्छ र त्यसरी प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि पठाउने गरेको पाइएमा प्रचलित कानुनअनुुसार हदैसम्मको कारबाही हुने भनाइ प्रमुख क्षेत्रीको छ । आइतबार राजवंशीको बयान लिने काम नसकिएकाले पुनः सोमबारको बयानपछि मात्रै उनको कसुरबमोजिम सजाय हुने उनले बताए । आइतबार समय अभावका कारण बयान नसकिएकाले राजवंशीलाई प्रहरी हिरासतमै पठाइएको छ ।
व्यवसायी राजवंशीले स्थानीय व्यापारीबाट स्टिकर संकलन गर्दै आफ्नो घरमा जम्मा पारेर विराटनगरतिर पठाउने गरेको स्रोतको दाबी छ । यसरी एकपटक प्रयोग भइ सकेको स्किटरको दुरुपयोग गरेर राजस्व छली गर्न ठूलै गिरोह संलग्न रहेको हुन सक्ने पनि राजस्व स्रोतको आकलन छ । त्यस विषयमा राजस्वले आफ्नो सूक्ष्म अनुसन्धान गरेपछि थप कुरा खुल्ने र अन्तःशुल्क स्टिकर दुरुपयोगमा संलग्न गिरोहका बारेमा समेत पत्ता लाग्ने राजस्व स्रोतको दाबी छ ।