काठमाडौं,जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र(विप्लव) सहित चार जना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरमा दुई मुद्यामा विप्लवसहित पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) माइला लामा र अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ ।
२०७६ सालको असोज ९ गते दायर भएको मुद्दामा उनीहरूमाथि सङ्घीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्यविरुद्धको कसुर गरेको अभियोग छ । उनीहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि मङ्सिर १० गतेको इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो ।