काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय समितिले सुन तस्करी प्रकरणको छानबिनका लागि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् । छानबिन समितिले उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।
उनलाई सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराउने कारागार स्रोतले जनाएको छ । उनलाई १३ भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो । अदालतमा दायर अभियोग पत्रमा पूर्वसभामुख महरा र उनका छोरा राहुलको नाम समावेश भएको विवरण सार्वजनिक भएपछि अनुसन्धानका लागि सरकार समक्ष दबाब बढेको थियो ।
भन्सार कर्मचारीहरुको बयान, राहुल र तस्करी समूहमा संलग्न चिनियाँ नागरिकहरुको फोन सम्पर्कको विश्लेषण (कल डिटेल रेकर्ड)लगायतलाई आधार मानी अदालतले राहुललाई तत्काल निर्दोष भन्न नमिल्ने देखिएको भन्दै थुनामा पठाउने आदेश गरेको थियो ।