गण्डकी । मुक्त फाउण्डेशनको आयोजनामा आगामी बिहीबार र शुक्रबार पोखरामा प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलनमा वैदिक ज्ञान र आधुनिक समाज विज्ञानसँग सम्बन्धित विज्ञहरुबाट हिमाली समाज र संस्कृतिबारे खोज तथा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।
सम्मेलनमा नेपाल, भारत, दक्षिणपूर्वी एसिया, यूरोप र अमेरिकाका ४० जना विषयविज्ञबाट प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्ने आज आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष दामोदर त्रिपाठीले जानकारी दिए । उनका अनुसार १० भन्दा बढी विदेशी प्रस्तोताले अनलाइन माध्यमबाट कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा नेपालको हिमाली सभ्यता, पर्यावरण र संस्कृतिबीचको अन्तर सम्बन्ध तथा यिनमा आधारित वैदिक ज्ञानमाथि बहस हुने जनाइएको छ ।
‘ऋग्वेद सबैभन्दा पुरानो वैदिक शास्त्र हो, आधुनिक समाज विज्ञानसँग यसको अन्तरसम्बन्धलाई केलाउनु सम्मेलनको मुख्य उद्देश्य हो’, फाउण्डेशनका अध्यक्ष त्रिपाठीले भने, ‘यो सम्मेलन शास्त्रमाथिको विवेचनाको प्रारम्भ हो ।’ हिमालय क्षेत्रमा लेखिएको ऋग्वेद वैदिक सनातन धर्मग्रन्थ मात्र नभएर आधुनिक समाज विज्ञानका लागि समेत महत्त्वपूर्ण ज्ञानको भण्डार रहेको उनले उल्लेख गरे ।
राससले जनाएनुसार फाउण्डेशनले गण्डकी विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभाग, त्रि–चन्द्र क्याम्पस, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायत सङ्घसंस्थासँगको समन्वयमा सम्मेलन आयोजना गर्न लागेको हो । आयोजकका अनुसार सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् । सम्मेलनमा देशविदेशका विभिन्न विश्वविद्यालय, सांस्कृतिक, शैक्षिक तथा पर्यटकीय संस्थामा आबद्ध दुई सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहने जनाइएको छ ।