बाँके । बाँकेको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । हिजो(मंगलबार) ‘स्वास्थ्य क्षेत्रको दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिला स्वयंसेविकाहरुको सक्रियताको कारण स्वास्थ्यसम्बन्धी सूचकमा सुधार आएको बताउँदै उनले महिला स्वयंसेविकाहरुको सक्रियताका कारण नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका बन्न सकेको भन्दै बधाई दिएका थिए । उनले महिला स्वयंसेविकाले गरेको कामको उच्च मूल्याङ्कन भएकाले बिशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नरैनापुर वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले स्वयंसेविकाले समुदायका कुना कुनामा स्वास्थ्यको पहुँच पुराएको बताए । प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले महिला स्वास्थ्य स्वयंसेवीकाको भूमिका निरन्तर रूपमा रहेको र यो अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । उनले स्वास्थ्य सेवालाई घरघरमा पुर्याउँन र अझ फराकिलो बनाउनु आवश्यक रहेको कुरा औँल्याए । नेपालको स्वास्थ्य अवस्थाका बारेमा स्वयमसेवीकाहरुले विश्व सामु फैलाएको जिकिर गर्दै उनले भने महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका संवाहक हुन् ।
गंगापुर स्वास्थ्य संस्थाका प्रमुख नबिनले घरघरमा स्वास्थ्य सूचनाका साथ समय सापेक्ष आवश्यकता अनुसारको सेवाहरु महिला स्वास्थ्य स्वयम् सेविकाले पहिलो लहरमा रहेर गरेको बताए । उनले कोभिड १९ मा पनि महिला स्वास्थ्य स्वयंसेविकाले ज्यान जोखिमा राखेर सेवा गरेकोमा प्रशंसा गरेका थिए ।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको अध्यक्षतामा भएको कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलगायत नरैनापुर २ का अध्यक्ष मसुद अहमद शाह, स्वास्थ्य संयोजक नगेन्द्र शाह, जिन्सी शाखा प्रमुख भरत महतो, योजना शाखा प्रमुख प्रकाश अधिकारी, ६ वटै स्वास्थ्य संस्थाका प्रमुख र महिला स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।