काठमाडौं । पोखरामा नयाँ बेकरी उद्योग सञ्चालनमा आएको छ । करिब ७० लाख रुपैयाँको लागतमा पोखरा महानगरपालिका वडा नं. २६, अर्घौंचोकमा अल्पाइन फुड एण्ड वेभरेज इण्डस्ट्रिज सञ्चालनमा आएको हो ।
उद्योगबाट पाउरोटी, बेकरी, विभिन्न किसिमका केक, पप तथा कुकिजलगायतका सामग्री उत्पादन गर्ने सञ्चालक निरञ्जन तिमिल्सेनाले बताए । नयाँ प्रविधिको प्रयोग गर्दै खाद्य उद्योगमा नयाँपन दिने उद्देश्यका साथ उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
स्थानीयस्तरमा उत्पादित सामग्रीलाई उद्योगले विशेष प्राथमिकता दिने उनले बताए । उद्योग उद्घाटन गर्दैै पोखरा महानगरपालिका वडा नं. २६ का वडाअध्यक्ष नरेन्द्र थापाले उच्च शिक्षाका नाममा युवापुस्ता विदेशिएको अवस्थामा स्वदेशमा नै केही गरौँ भन्ने भावनाले अघि बढेका युवाहरूलाई स्थानीय सरकारबाट सहयोग रहने प्रतिबद्धता जनाए । उनले गुणस्तरीयतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव समेत दिए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले नाफा कम राखेर बिक्री धेरै गर्ने योजनाका साथ अघि बढ्न सुझाव दिए ।