तेहरान । अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ ।
इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरेका छन् । इजराइली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आश्चर्यजनक हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको छ भने हमासले करिब दुई सय ४० जनालाई बन्धक बनाएको छ ।
इजराइलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमला सुरु गरेको छ । हमलामा प्यालेस्टिनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । इजराइल अमेरिकाको मुख्य सहयोगी मुलुक हो ।
गाजामा तत्काल युद्धविरामको आह्वान गरिएको सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले शुक्रबार भिटो लगाएको थियो । उक्त प्रस्तावले हमासलाई अक्टोबर ७ मा गरेको हमलालाई दोहो¥याउन सक्षम बनाउने भन्दै भिटो लगाउनुपरेको अमेरिकाले बताएको छ ।
इरानी विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमा कुरा गर्दै अमेरिकाले यहुदीवादी शासन (इजराइल)को अपराधहरू र युद्धको निरन्तरतालाई समर्थन गर्छ तबसम्म यस क्षेत्रको स्थितिमा अनियन्त्रित विस्फोटको सम्भावना रहेको चेतावनी दिएका छन्् ।
एक साताको युद्धविरामपछि डिसेम्बर १ देखि इजराइल र हमासबीच पुनः युद्ध सुरु भएको छ । इजराइलका अनुसार हमासले युद्धविरामको उलंघन गरेको छ । वदेशमन्त्री अमिर–अब्दुल्लाहियानले हमासले युद्धविरामको उलंघन गरेको इजराइलको दाबी सम्पूर्णरूपमा गलत भएको बताए । उनले इजराइलका लागि अमेरिकी समर्थनले स्थायी युद्धविराम हासिल गर्न कठिन बनाएको बताए । रासस