काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज सञ्चालनमा आएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानुनबमोजिम स्थापना भएको कम्पनीले आइतबारदेखि कारोबार सञ्चालन गरेको हो ।
बैंक वा वित्तीय संस्थाले आफ्नो शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनीमार्फत धितोपत्र दलालको रूपमा कार्य गर्न सक्ने व्यवस्थाअनुरूप कम्पनी रजिस्ट्रारको कार्यालयमा मिति २०७६ जेठ २८ स्थापित सीबीआईएल सेक्युरिटिज कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मिति २०८० श्रावण ३२ गतेका दिन र नेपाल स्टक एक्सचेन्ज लिमिटेडवाट मिति २०८० असोज २९ मा धितोपत्र दलाल नं.९१ सदस्यता प्राप्त गरिएकोमा आइतबार एक समारोहका बीच सिटिजन्स बैंकको सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले कम्पनीको विधिवत् उद्घाटन गरी कम्पनीको टीएमएस सेवा सञ्चालनमा ल्याएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सीबीआईएल सेक्युरिटिजले आफ्नो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गरे । साथै, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरूमा अरू विभिन्न किसिमका सेवा सुविधाहरू ग्राहकमाझ ल्याउने गरी थप संस्थाहरूको स्थापना गर्न सकिने धारणा व्यक्त गरे । यो संस्था बैंकको आफ्नै कुपण्डोलस्थित भवनबाट सञ्चालनमा ल्याइएको छ । समारोहमा सिटिजन्स बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनलगायत उक्त सेक्युरिटिजका सञ्चालकहरू, कम्पनी कर्मचारीहरूको उपस्थिति थियो ।
धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रूपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवम् छरितो सेवा प्रदान हुने र यसको प्रधान कार्यालय, कुपण्डोलमा रहेको छ । यस कम्पनीले आफ्ना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवालगायत डिम्याट खाता तथा केन्द्रीकृत केवाईसी खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको छ । यसको साथै यस कम्पनी सिटिजन्स बैंक लिमिटेडको कुपण्डोल शाखा भवनमा रहेको हुँदा ग्राहकले बैंक खाता खोल्न तथा सेयर धितो कर्जा समेत एकै भवनबाट सेवा प्राप्त गर्न सक्नेछन् । यस कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरूमा शाखा खोली ग्राहकलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिइएको छ ।
सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो । यसअघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।