काठमाडौं । बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज बिहीबार अपराह्न दुई बजेसम्ममा अल्पकालीन अर्थात् १४ दिनको अवधि तोकेर बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा मौद्रिक उपकरण बिक्री गर्न लागेको हो । निष्काशन मिति विसं २०८० मंसिर २८ गते तोकिएको निक्षेप संकलन उपकरणको साँवाब्याज भुक्तानी मिति २०८० पुस १२ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो मौद्रिक उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरूले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ ।