विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका हार्डवेयर व्यवसायीहरू राजस्व छली गर्नेमा अग्रपङ्क्तिमा रहेको पाइएको छ । कोभिड १९ को महामारी र आर्थिक मन्दीले अर्थतन्त्र रुग्ण बन्दै गएको बजारलाई करिडोरमा रहेका केही हार्डवेयर व्यवसायीले भने कमाउधन्दामा प्रयोग गरेको पाइएको हो ।
स्रोतका अनुसार भन्सार मूल्याङ्कनअनुुसार करिब तीन करोड मूल्य बराबरको हार्डवेयरका सामान भन्सार एजेन्टको सेटिङमा आवश्यक प्रक्रिया पु¥याएर एक करोड मूल्य कायम गरी जाँचपास भएको खुलेको हो । भन्सारको मूल्याङ्कनअनुसार हार्डवेयरका सामान आयात गर्दा मुुनाफा अत्यन्तै न्यून रहन थालेपछि उनीहरूले भन्सार मूल्याङ्कन कम गरेर धेरै सामान आयात गर्न थालेका हुन् । भन्सार छली गरेर ल्याएका सामानहरूबाट हार्डवेयर व्यवसायीहरूले मनग्य नाफा कमाउने भएपछि उनीहरू यो धन्दामा लागेको स्रोतको भनाइ छ । सरकारी ऐनअनुसार कुनै पनि सामानको मूल्याङ्कन नै कम गरी वा व्यापारी तथा भन्सार एजेन्टबाट राजस्व छली भएमा त्यस्तो सामान भन्सार राजस्व गस्तीको जिम्मा लिएको सशस्त्र प्रहरीको बीओपीले राजस्व अनुसन्धान कार्यालयमा बुझाउने व्यवस्था गरेको छ । तर भन्सार एजेन्ट र व्यापारीहरूले भन्सार सुरक्षार्थ खटिएको सशस्त्रको बीओपीसँग सेटिङ मिलाएर अवैध सामान ल्याउने गरेका छन् ।
व्यवसायीले सेटिङमा सामान छुटाएर करोडौंको राजस्व चोरी गर्ने गरेका हुन् । अहिले आर्थिक मन्दीका कारण उपभोक्ताका गृह निर्माणदेखि सरकारी निकायले गर्ने विकास निर्माणका काम ठप्पजस्तै भएको छ । तर पछिल्लो समय बजारमा व्यवसायीहरूले भारतबाट हार्डवेयरका सामानहरू धमाधम मगाइरहेका छन् । यस्तै, उनीहरूले आफूले कारोबार गर्ने फर्ममा आफ्नो नाम नराखी कुुनै आफन्तको नाममा फर्म दर्ता कारोबार गर्ने गरेको पनि खुुलेको छ । त्यस्ता व्यवसायीले अरू नै गोप्य व्यावसायिक फर्म प्रयोग गरी निर्वाधरूपमा हार्डवेयरको व्यवसाय गर्ने प्रचलन पछिल्लो समय विराटनगर बजारमा व्यापक बढेको हो । यता आन्तरिक राजस्व कार्यालय विराटनगरले पनि त्यस्ता व्यवसायीलाई पटक–पटक सचेत गराउँदै राजस्व छली गर्ने गरेको सम्बन्धमा कारबाही गर्दा समेत अझै विराटनगर बजार क्षेत्रमा सञ्चालित केही व्यवसायी नसुध्रिएको स्रोतको दाबी छ ।
स्रोतका अनुुसार विराटनगरको शनि मन्दिर रोडमा सञ्चालित एक हार्डवेयर पसलमाथि राजस्वले सूक्ष्म अनुुसन्धान समेत थालेको छ । ती व्यवसायीले पनि फर्म आफन्तको नाममा दर्ता कायम गरी कारोबार आफैँ सञ्चालन गर्दै आएका छन् । मोरङको रंगेली बजारबाट विराटनगर बजारमा व्यवसाय गरी रहेका ती व्यक्तिको व्यवसायी कारोबारलाई राजस्वले सूक्ष्मरूपमा अनुसन्धान थालेको हो । तर पछिल्लो समय धराशायी बनेको व्यापारका कारण कसरी अगाडि बढ्ने भन्ने योजनामा राजस्व रहेको बताइन्छ ।