दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले दुहुनो गाईभैंसीपालक किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । पालिकाले दुहुनो गाईभैँसी पालक किसानलाई दुई हजार पाँच सय रुपैयाँका दरले पशु सुत्केरी स्याहार तथा प्रोत्साहन भत्ता वितरण गर्ने भएको हो ।
पालिकाले एक सूचना जारी गर्दै दूध उत्पादनमा वृद्धि गर्ने योजनाअनुसार दूध दिइरहेका पशुको आहारा व्यवस्थापन तथा उचित स्याहारका लागि सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । पशु सुत्केरी स्याहार खर्च प्राप्त गर्नका लागि किसानहरूले पालिकाको पशु विकास शाखामा निवेदन पेश गर्नुपर्ने र पशुबीमा गरेको हुनुपर्नेछ । पालिकाका पशु अधिकृत शान्तिप्रसाद दाहालले पशुपालनमा प्रोत्साहन गर्दै दुग्ध र मासुजन्य खाद्यवस्तुमा परनिर्भरता घटाउन यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार गाईभैँसी ब्याएपछि पशुधनी किसानलाई सो रकम उपलब्ध गराइनेछ ।