काठमाडौं । बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताए ।
उनका अनुसार आकाश खुला रहेको अवस्थामा यो जुनसुकै ठाउँबाट पनि खुल्ला आँखाले हेर्न सकिने छ । मिथुन राशी अर्थात् जेमिनाईतिरबाट आएको जस्तो देखिने भएकाले यसलाई खगोलविद्ले ‘जेमिनिड्स’ नाम दिएको उनको भनाइ छ ।
उल्का वर्षा विभिन्न रङ्गमा देखिने छ । डा. शर्माका अनुसार यो उल्का वर्षा बिहीबार मध्यरातिदेखि भोलि बिहान ३–४ बजेसम्म अवलोकन गर्न सकिनेछ । अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ ।
यो धेरै सङ्ख्यामा देखिने भएकाले अरु उल्का वर्षाभन्दा यसलाई विशेष मानिएको शर्माको भनाइ छ ।पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।