सिन्धुपाल्चोक । मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् । आइतबार उनले मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको निरीक्षण गर्दै काठमाडौँका बासिन्दालाई सक्दो चाँडो पानी खुवाउनुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गरे । मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन् । सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए ।