काठमाडौं । सरकारले १४ अर्ब ३३ करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) ट्रेजरी बिल बिक्रीमार्फत सरकारका लागि सो ऋण उठाउन लागेको हो । सरकारले पुरानो ट्रेजरी बिलको भुक्तानीका लागि नवीकरणमार्फत सो रकम उठाउन लागेको हो ।
आज अपराह्न २ बजेसम्म बोलकबोलमार्फत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । यसअघि मंसिर २५ गते पनि राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
ट्रेजरी बिल मंगलबार जारी हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बिल किन्न सक्नेछन् । बिक्री गरिने ट्रेजरीहरुमा २८ दिन अवधिको आठ अर्ब रुपैयाँ र एक सय ८२ दिन अवधिको छ अर्ब ३३ करोड रुपैयाँको छ । २८ दिन अवधिको ट्रेजरी बिल माघ दुई र एक सय ८२ दिन अवधिको २०८१ असार पाँच गते परिपक्व हुनेछ ।
यसअघि गत साता पनि राष्ट्र बैंकले ९१ दिन अवधिको आठ अर्ब ५० करोड, एक सय ८२ दिन अवधिको आठ अर्ब र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।