निर्माणाधीन पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डको ठेक्का पनि तोडिएको छैन, काम पनि द्रूत गतिमा भएको छैन । न काम गराउन सरकारले सकेको छ न त काम गराउने सरकारले आफ्ना माग पूरा गरेन भनेर निर्माण व्यवसायी कार्यस्थल छाडेर हिँड्न नै सकेको छ ! त्यसको मारमा भने स्थानीय र यात्रुहरू परेका छन् ।मुग्लिन–पोखरा सडकको पूर्वी खण्ड र नारायणगढ–बुटवल सडकको केही किलोमिटरबाहेक अधिकांश खण्ड पानी परेपछि हिलाम्मे र पानी पर्न छाडेपछि धुलाम्मे हुन थालेको तीन वर्षभन्दा बढी भइसक्यो । काम गर्ने निर्माण व्यवसायीले समयमै काम नगरिदिँदा सो सडक आसपास बस्ने मात्र होइन ती दुई राजमार्गबाट ओहोरदोहोर गर्ने दैनिक हजारौँ यात्रुले सकस भोग्नुपरेको छ ।
ती दुई सडकको अवस्था सवारीसाधन गुड्न र मान्छे हिँड्न नसक्ने भयो भनेर स्थानीय जनप्रतिनिधिदेखि संघीय सांसद र स्थानीय बासिन्दाले केन्द्र सरकारसँग लगातार आवाज उठाइरहेका छन् । तर, सरकारीस्तरबाट निरीक्षण गर्ने अब काममा ताकेता गर्ने भन्ने आश्वासनबाहेक पाएका छैनन् । अहिले काम गर्ने मौसममा पनि ती सडकमा निर्माण व्यवसायीहरूले राम्रोसँग काम नै गरेका छैनन् ।उक्त दुई राजमार्गका बारेमा अति गुनासो भएपछि बाध्य भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको सोमबार ‘भर्चुअल’ निरीक्षण गरे ।
उक्त निरीक्षणमा प्रधानमन्त्रीले बल्ल त्यो सडकको हालत पत्ता लगाए । स्थानीयको माग प्रचण्ड प्रधानमन्त्री बन्नासाथ ती दुई सडकको निरीक्षण गरेर उपयुक्त निर्देशन होस् भन्ने थियो । तर, प्रचण्डले आफ्नावरिपरिका काम, नातिनीको विवाह सकेर फुर्सद भएपछि मात्र सोमबार ती दुई राजमार्गको अवस्थाका बारेमा स्थलगत नभई भर्चुअल निरीक्षण गर्न भ्याए । उनले भर्चुअल निरीक्षणमा जे देखे, त्यसबाट उनी सन्तुष्ट हुन सकेनन् ।
यदि प्रचण्ड गत पुसमा प्रधानमन्त्री बनेपछि तत्काल यस्ता ठूला र महत्वपूर्ण सडकको निरीक्षण गरेको भए अहिले निर्माणले तीव्र गति लिइसक्ने मात्र होइन कतिपय ठाउँमा निर्माणका काम नै पूरा भइसकेको हुनेथियो । तर, प्रधानमन्त्रीले फुर्सद निकाल्न नसकेको कारण एक वर्ष कुर्नुप¥यो । पुसमा प्रधानमन्त्री भएका प्रचण्डले पुस लागेपछि मात्र ती राजमार्गको बारेमा आफ्नो धारणा सार्वजनिक गरे, ‘सन्तुष्ट हुनसक्ने अवस्था देखिएन ।’
सिंहदरबारबाट प्रधानमन्त्रीले हेर्दा सन्तुष्ट हुन नसकेको ती दुई सडकको अवस्था वास्तवमै दयनीय छ । डेढ–दुई घण्टामा पार हुने नारायणगढ–बुटवलको एक सय १४ किलोमिटर सडक पार गर्न अहिले अन्य अवरोध भएन भने पनि पाँच÷छ घण्टा लाग्छ । कुनै–कुनै बेला त १० घण्टा पनि लाग्छ । मुग्लिन–पोखराको अवस्था पनि करिब त्यस्तै छ । पूर्वी खण्डको केही किलोमिटर कालोपत्रे हुँदै गरे पनि पश्चिम खण्ड त गाडी गुडाउनै नसकिने अवस्था छ । तर, सरकारले चिनियाँ ठेकेदारलाई काममा लगाउनै सकेको छैन ।
नारायणगढ–बुटवल सडक निर्माणको लागि २०७५ साल माघ २४ गते ४२ महिनामा पूरा गर्नेगरी सम्झौता भएको थियो । उक्त सडकको अवस्था हेर्ने हो भने अझै अर्को ४२ महिनामा पनि निर्माण पूरा हुने÷नहुने यसै भन्न सकिने अवस्था छैन । ‘प्रधानमन्त्रीतहबाटै ताकेता नहुने हो भने कहिले निर्माण पूरा हुन्छ भन्न सकिन्न’, सडक विभागकै एक अधिकारीले भने, ‘मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक अब पनि चाँडो सक्ने हो भने प्रधानमन्त्रीतहबाटको ताकेता र निगरानीबाट मात्र सम्भव देखिन्छ ।’
प्रधानमन्त्री भएको एक वर्षपछि बल्ल ती दुई राजमार्गमा आँखा लगाएका प्रधानमन्त्री प्रचण्डले भर्चुअल बैठकमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भौतिक मन्त्रालय÷सडक विभागका अधिकारीहरूसँग भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ ।’ गुणात्मकरूपमा भूमिका बढाउनुपर्ने प्रधानमन्त्रीले एक वर्षपछि आँखा लगाउनाले ती राजमार्गमा सरकार निर्माण व्यवसायीसँग लाचार भएको देखिन्छ ।
ती राजमार्गमा साना–साना समस्याले पनि काम रोकेको छ । पैसा तिर्दासमेत विद्युत् प्राधिकरणले समयमै पोलहरू नसारिदिएको कारण अर्को समस्या झेल्न आयोजना बाध्य छ । गिट्टी, बालुवा, ढुंगाको समस्या पनि ती राजमार्ग निर्माणमा बेला–बेलामा निस्कने गरेको छ । ‘गिट्टी, बालुवा ढुंगा, विद्युत्का सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो’ प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुप¥यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले ती सडक परियोजनाको ‘माइलस्टोन’ सूचकका आधारमा प्रगति हुनुपर्ने बताए पनि निर्माण व्यवसायीले खासै वास्ता गरेको देखिँदैन । ‘तोकिएको समयमा नै काम सकिनुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भौतिक मन्त्रालयका अधिकारीहरूलाई भने, ‘यी दुई प्रोजेक्ट महत्वपूर्ण छन्, समयमै सकिनुपर्छ । यी कारणले काम भएन भन्न पाइने छैन ।’ प्रधानमन्त्री भएको एक वर्षपछिको निरीक्षणको क्रममा प्रधानमन्त्रीले आफूले उक्त सडकको स्थलगत निरीक्षण गर्ने दाबी गर्न भने छुटाएनन् ।
‘म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’ फिल्डमै गएर विकासको कामलाई अगाडि बढाउने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डको नयाँ भनाइ होइन । यो भनाइ उनले प्रधानमन्त्री बन्नासाथ सबैतिर भन्ने गर्दथे । तर, अहिलेसम्म हेर्नलायक र सरकारले यति राम्रो काम गरायो भनेर कुनै पनि योजनामा भन्नसक्ने अवस्था छैन । प्रधानमन्त्री प्रचण्डले दुई सिफ्टमा काम गर्न निर्देशन दिएका छन् । तर, त्यसका लागि भौतिक मन्त्रालयले गृहकार्य भने गरेको छैन ।