बसोबास नेपालले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला आयोजना गर्ने भएको छ । घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुत्र्याउने उद्देश्यले कम्पनीले पुस ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो मेला आयोजना गर्न लागेको हो ।
समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको सहभागिता रहने बताइएको छ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ । मेलामार्फत घरजग्गा खरिदकर्ता र ग्राहक दुवै पक्षलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जनाएको छ ।
मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि गराइने छ । मेलाले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने बसोबास नेपालका कार्यकारी अधिकृत राजन अधिकारीले बताए । मेलाले घरजग्गा कारोबारमा संलग्न क्रेता÷बिक्रेता, एजेन्ट तथा एजेन्सी सबैमा आशाको किरण छर्ने उनको भनाइ छ ।
उनका अनुसार मेलामा सहभागीहरूले बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’, बसोबासमा लिस्टिङ भएका घरजग्गा र नयाँ प्लटिङहरू, व्यावसायिक भवन, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्याधुनिक सुविधासम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू गरी २५ भन्दा बढी प्रोजेक्टका दुई सयभन्दा बढी प्रपर्टीहरूमा छुट बुकिङ गर्न पाउनेछन् । मेलामा समावेश प्रपर्टीहरू उच्च, निम्न र मध्यम सबै वर्गका खरिदकर्ताका लागि उपयुक्त हुने किसिमका रहेका छन् ।
मेलामा सहभागी भई प्रपर्टीको छुट बुकिङ गर्ने सेवाग्राहीले कम्पनीको तर्फबाट प्रपर्टीको किसिम तथा मूल्यानुसार एक करोडसम्म नगद छुट र १० ग्रामदेखि १०० ग्रामसम्म सुन उपहार पाउनेछन् । यी प्रपर्टीको बुकिङ मूल्य बजारमा चलेकोभन्दा एकदमै कम राखिएको छ ।
बसोबास नेपाल, घरजग्गा कारोबारलाई पारदर्शी र व्यावसायिक बनाउने उद्देश्यले स्थापित रियलस्टेट मार्केटप्लेस हो । सन् २०१६ मा स्थापना भएको बसोबासले सुरूवाती दिनदेखि नै घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सी र ग्राहकहरूबीच सहजकर्ताको भूमिका खेल्दै आएको छ । सेवाग्राहीलाई विभिन्न माध्यमबाट घरजग्गा बजारका गतिविधि, प्रपर्टीको मूल्य तथा नीतिनियमका बारेमा जानकारी दिनुका साथै बजारमा चलेका ट्रेन्ड र टेक्नोलोजीहरूको बारेमा ग्राहकहरूलाई सु–सूचित गर्दै आएको कम्पनीले जनाएको छ ।