काठमाडौं,‘एनसेल’ नामको टेलिफोन कम्पनीको सेयर बिक्री प्रकरणमा सरकारको धारणा व्यक्त गर्न मंगलबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो परिवारको प्रतिरक्षामा समय दिन बाध्य भएका छन् ।
प्रचण्डले गोप्यरूपमा ‘आर्थिक डिल’ गर्न छोरीलाई सचिवालयमा राखेर मुख्य भूमिका दिएको आरोप लागिरहेको बेला सुशासन समितिको बैठकमा प्रचण्डले एनसेलको विषयमा भन्दा पहिला आफ्ना छोरीहरूको बारेमा उठेका प्रश्नको जवाफ दिँदै उनीहरूमाथि लागेका आरोपको प्रतिरक्षा मात्र गरेनन् उनीहरू निर्दोष रहेको भन्दै ‘बिचरा’ भनेर सम्बोधन गरेर भावनात्मक ‘बार्गेनिङ’को तहमा पुगे ।
समिति बैठकमा बोल्ने अधिकांश सांसदले प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयमा काम गर्ने छोरी गंगा दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको एनसेल खरिदबिक्री प्रकरणमा नाम जोडिएको भन्दै त्यसका बारेमा प्रस्ट पार्न माग गरेका थिए । सांसद रघुजी पन्तले त सरकारले गठन गरेको छानबिन समितिले प्रधानमन्त्री प्रचण्डलाई चोख्याउने भन्दै उक्त समितिको काम नभएको बताएका थिए । सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्मा छानबिन समिति गठन गरेको छ ।
कारबाही गर्ने सरकारी संयन्त्र हुँदाहुँदै किन छानबिन समिति गठन गरेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सांसद रवि लामिछानेले प्रधानमन्त्रीमाथि प्रश्न गरेका थिए । उनले सरकारी नियकालाई बेवास्ता गरेर यसरी गठन हुने समितिले राम्रो नगर्ने बताएका थिए ।
आफ्नी छोरीमाथि एनसेललगायतका अन्य प्रकरणमा अनावश्यक आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले तीव्र असन्तुष्टि पोखे । उनले आफ्नी छोरी गंगामाथि लागेका आरोपलाई व्यवस्थासँग जोड्ने काम गरे । प्रधानमन्त्री प्रचण्डले आफ्नो छोरीहरू र व्यवस्था एकै भएको जसरी समिति बैठकमा अभिव्यक्ति दिए । यस्ता अभिव्यक्ति विगतमा राजा÷महाराजाबाट आउने गर्दथे ।
समिति बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो परिवारमा अब तीन जना सदस्य मात्रै बाँकी छन् । एउटी छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छिन् । अर्कीे छोरी मेरो सचिवालयमा काम गरिरहेकी छिन् । त्यो बिचरा कस्ती छ, सबैलाई नै थाहा छ । उसलाई जोडेर कहिले उचालिएको छ, कहिले पछारिएको छ । यो लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला हो ।’ प्रचण्डले सचिवालयमा काम गर्ने छोरी गंगालाई ‘बिचरा’ भने पनि उनले ठूलो भ्रष्टाचार काण्डको डिल गरेको आरोप लाग्ने गरेको छ । विपक्षी मात्र होइन कतिपय माओवादी नेताबाटै प्रत्यक्ष÷अप्रत्यक्षरूपमा त्यस्ता आरोप लाग्ने गरेका छन् ।
प्रचण्डले आफूलाई भ्रष्टाचारको आरोप लगाएपछि व्यवस्था नै उल्टिनेजस्ता मनगढन्ते जवाफ समितिमा दिएका थिए । प्रचण्डका त्यस्ता अभिव्यक्तिले भ्रष्टाचारको आरोपमा उनी तथ्य र प्रमाणसहित खण्डन गर्न असमर्थ रहेको देखाएको छ । ‘प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरोविरुद्ध लागिपरेका छन् ।
केलाई चलाएर के भनेजस्तो, मैले किन चलाउनु ? मलाई थाहा छ, चुप लागेको हो । यहाँ समितिमा प्रश्न उठेकोले जवाफ दिएको हो ।’ आफू र आफ्नो छोरी नै गणतन्त्र व्यवस्थाको मुख्य मियो भनेर प्रचण्डले दाबी गरे पनि ती कुरा भने सत्य होइनन् । प्रचण्ड शक्तिमा नहुँदा पनि गणतान्त्रिक व्यवस्था चलेको थियो र अहिले उनी नेतृत्वको सरकार ढले पनि गणतान्त्रिक व्यवस्था चल्ने देखिन्छ ।