काठमाडौं । विशेष अदालत काठमाडौंबाट भएको फैसलाउपर चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालत काठमाडौँमा दायर भएको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी आज (बिहीबार)सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जनाए ।
अख्तियारले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियारको निर्णय अनुसार आज सर्वोच्चमा पुनरावेदन गरिएको छ ।
मदनप्रसाद गुप्ताले सार्वजनिक सेवा अवधिमा १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएको अख्तियारको ठहर छ । अख्तियारका अनुसार गुप्ता तथा उनका परिवारका सदस्यहरू समेतले आय आर्जन गरेको रकम चार करोड ५४ लाख ७२ हजार २४६ रुपैयाँको तुलनामा विभिन्न शीर्षकमा गरिएका खर्च तथा लगानी १९ करोड ३६ लाख ६१ हजार १६९ रुपैयाँ देखियो प्रवक्ता घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार गुप्ताको आयभन्दा बढी खर्च तथा लगानी गरेको १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको हुँदा उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अनुसन्धानबाट खुलेको छ ।