काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल नबुझाउने चार उद्योगी ग्राहकको आइतबार लाइन काटेको छ । प्राधिकरणले शुक्रबार पनि केही त्यस्ता चार उद्योगी ग्राहकको लाइन काटेको थियो ।
महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटक–पटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । महालेखाको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्था र पब्लिक लिमिटेड कम्पनीको मर्जर र प्राप्ति गरेकाहरूले पनि लाभांशमा कर तिर्न परेपछि सरकारले बक्यौता नतिर्ने उद्योगी ग्राहकसँग महसुल उठाउन लाइन काटेको हो ।
प्राधिकरणले सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल उद्योग, अशोक स्टिल र त्रिवेणी स्पिनिङ मिलको लाइन काटेको हो । सर्वोत्तम सिमेन्टले ८५ करोड र लक्ष्मी स्टिलले ६२ करोडबराबरको बक्यौता तिर्न बाँकी छ भने अरु उद्योगको पनि ५० करोड रुपैयाँभन्दा बढी बक्यौता बाँकी छ । शुक्रबार प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलाइन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।
विभिन्न चार उद्योगको बिजुली काटेको थियो । सर्वसाधारणलाई बिजुली नदिई लोडसेडिङ गरेर केही उद्योगलाई सिधै लाइन दिए पनि बिजुली पाउने उद्योगीले महसुल बुझाएका थिएनन् । त्यसरी बिजुली खपत गरेका उद्योगीहरूले महसुल तिर्नुपर्ने आवाज विगतमा उठे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै रोकेका थिए । प्राधिकरणका एमडी कुलमान घिसिङले पनि उठाउने प्रयास गरेका थिएनन् । पछिल्लो समयमा उद्योगी र प्रचण्ड तथा कुलामानबीच कुरा नमिल्दा लाइन काटिएको हो । लेनदेनमा कुरा मिलेमा महसुल नबुझाए पनि लाइने जोडिने सम्भावना भने उत्तिकै रहेको प्राधिकरणकै केही अधिकारी बताउँछन् ।
साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुलउपर गर्न निर्देशन दिएका थिए ।