काठमाडौं । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।
उनले क्षमतावान् व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने औँल्याए । मन्त्री साउदले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरू विदेशिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको जानकारी दिए ।
मन्त्री साउदले काम गर्ने जनसङ्ख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताए । उनले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराए । उनले राज्यका सबै क्षेत्रहरूमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।