काठमाडौँ । एक सय ३१ औँ ‘माओ दिवस’का सन्दर्भमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौतिका रुपमा रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष दाहालले माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढङ्गले सोच्नु रहेको उल्लेख गरे । अध्यक्ष दाहालले मार्क्सवादीले यान्त्रिकता वा अन्धानुकरणमा जानु उपयुक्त नहुने विचार व्यक्त गर्दै माओवादीको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही नै रहेको उनको भनाइ छ । उनले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समापनलगत्तै नयाँ अभियानको थालनी गरिने जनाउँदै अध्यक्ष दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिँए । दाहालले त्यसका लागि आफ्नो नेतृत्वको वर्तमान सरकार क्रियाशील रहेको पनि बताए ।
कार्यक्रममा अध्यक्ष दाहालललगायत नेताले माओको तस्वीरमा माल्यापर्ण गरेका थिए । सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुनलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।