काठमाडौँ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८०को शुभकामना सन्देश दिदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छिन् ।
उनले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग गर्न सकिने बताइन् ।
बितेका केही दशकयता जीविकोपार्जनमा आएको परिवर्तन, फेरिएको जीवन पद्धति, आप्रवासन आदिका कारण हाम्रो पारिवारिक संरचनामा समेत अभूतपूर्व परिवर्तन देखिन थालेका बताउँदै उनले आजकाल ठूलो आकारको संयुक्त परिवारको साटो सानो एकल परिवारमा बस्ने प्रचलन बढ्दै गएको पनि सन्देशमा उल्लेख गरेकी छिन् ।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको २०५१ साल पुस ११ गते ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउन सुरु गरिएको यो तेस्रो वर्ष हो ।