तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.२ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको जग्गालाई मुआब्जा दिन थालेको छ । केन्द्रले नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरी जग्गाधनीलाई करिब २२ करोड रुपैयाँको मुआब्जा दिन थालेको हो ।
आयोजनाको बाँधले त्यस क्षेत्रका वस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन थालिएको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए । त्यहाँका स्थानीय मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए ।
सोही बमोजिम १३ घर परिवारको जग्गा अधिग्रहण गरिएको गौतमले बताए । उनका अनुसार १३ घर परिवारलाई कूल २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ रुपैयाँ प्रदान गरिने छ । जसमध्ये जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ रुपैयाँ र घरटहराका लागि तीन करोड ९० लाख ९९ हजार तीन सय १५ रुपैयाँ वितरण हुनेछ ।
गत साउन २६ गते तनहुँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशतभन्दा बढी मुआब्जा वितरण गरिसकिएको थियो । समितिको बैठकले जग्गाको प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार छ सय ८० रुपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरेको थियो ।