काठमाडौं । वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै करिब तीन लाख रुपैयाँ ठगी गर्ने एक युवा पक्राउ परेका छन् । दुई लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा घर भई काठमाडौंको गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गिरीले वैदेशिक रोजगारीका लागि मासिक ८० हजार रूपैयाँ तलबमा कतार पठाई दिन्छु भन्दै उक्त रकम एक जनाबाट लिएका थिए । कतार पुगेपछि ड्राईभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गिरीलाई काठमाडौं गोठाटारबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।