बेदकोट (कञ्चनपुर) । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ ।
गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण (एन्टिजेन पोजेटिभ) देखिएको जानकारी दिए । कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौँ पठाइएको तर दुई साता भइसक्दा पनि त्यसको ‘रिपोर्ट’ नआएको प्रमुख साउदले बताएका छन् ।
गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका मध्ये कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको साउदले जानकारी गराए ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जनाएको छ ।