काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् ।
सो अवसरमा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए भने नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछ । तत्कालीन गोरखाका राजा शाहले जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।