डडेल्धुरा । नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको जानकारी दिए ।
कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको बताउँदै मन्त्री साउदले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेको बताए । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुङ्ग्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।
भारतका विदेशमन्त्री डा. एस जयशङ्करले हालै गरेको नेपाल भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको मन्त्री साउदले दाबी गरे ।