काठमाडौं । हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका घर भई हाल काठमाडौंको सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् ।
नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गरेकाले उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । महाबौद्ध क्षेत्रमा हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले भीमसेन गौतमका साथबाट नेपाली एक हजार रुपैयाँ दरका ६ सय थान नोट र पाँच सय रुपैयाँ दरको चार सय थान नोट गरी आठ लाख रुपैयाँ बरामद गरेको छ ।
त्यस्तै, राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैङ्क तथा सहकारीको १७ वटा चेकमा उल्लेखित सात लाख ९७ हजार रुपैयाँ र नगद नेपाली एक हजार रुपैयाँ दरको ३९ थान नोट र पाँच सयका दरको एक हजार ७२ थान नोट गरी पाँच लाख ७५ हजार रुपैयाँ फेला परेको छ । प्रहरीका अनुसार उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।