काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्यक्षतामा राजधानीमा भएको सो सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरणलगायत पारित गरेको थियो ।
यस्तै, सभाले लेखापरीक्षक नियुक्ति र पारिश्रमिक समेत निर्धारण गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७१ करोड चार लाख २१ हजार रुपैयाँ रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ्ग जिल्लाबीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी–१ जलविद्युत् परियोजना सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७६ असोज १६ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्ति गर्दै आएको छ ।