काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु जहाज ग्राण्डेड भएसँगै अलपत्र परेका छन् । वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमका प्रवक्ता रमेश पौडेलले बतथाए ।
रोकिएका यात्रुलाई मंगलबार साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उनले जानकारी दिए । अहिले ग्राउण्डेड जहाजको प्राविधिक मर्मत भइरहेको छ । जहाजमा प्राविधिक समस्याका कारण हिजो राति काठमाडौं बाट दोहा उडानका तयारीमा रहेका दुई सय ७६ यात्रुलाई होटेलमा राखिएको थियो । यात्रुहरुलाई मंगलबार साँझ ७ः४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । पटक–पटक निगमको जहाजमा प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ ।