यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण सेयर निष्काशन गर्ने भएको छ । सो सेयर निष्काशनका लागि कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआईएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसरजस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उक्त सम्झौताअन्तर्गत एनआइएमबी एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ विधिमार्फत यति ब्रुअरी लिमिटेडको साधारण सेयरहरू सार्वजनिक निष्काशन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यहरूमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ । यति ब्रुअरी लिमिटेडको रजिस्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रहेकोे छ भने फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ ।