काठमाडौं । काठमाडौंको मीनभवनस्थित सिभिल सर्भिस अस्पतालको प्रशासनिक भवनमा कार्यरत करार कर्मचारीहरुले आज(शुक्रबार) धर्ना बसेको २७औँ दिन पुगेको छ । पाँच बुँदे मागसहित अस्पतालको प्रशासनिक भवनमा करार कर्मचारी हित संघर्ष समितिको आयोजनामा हस्पिटल परिसरमा धर्नामा बसेका कर्मचारीहरुले माग पूरा नभएसम्म धर्नालगायतका विरोध कार्यक्रम जारी राख्ने बताएका छन् ।
निजामती कर्मचारी करार संघर्ष समितिका अध्यक्ष सन्तोष धिमालको नेतृत्वमा करार कर्मचारीहरु शान्तिपूर्ण रुपमा धर्ना बसेको आज २७ दिन पुगेको छ । अस्पतालमा कार्यरत करार रेडियोलोजीतर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट पदउनती गर्ने निर्णयविरुद्ध आफ्नो पाँच बुँदे माग राख्दै, कालो ब्यानर, प्ले कार्डसहित उनीहरु धर्नामा बस्दै आएका छन् ।
करिब १५ जनाको उपस्थितिमा उनीहरुले विनियमावली संशोधन गर, कर्मचारीलाई उपदानको व्यवस्था गर, १२ बर्षदेखिको सेवाको कार्यसम्पादन मुल्यांकन खोई ?, सामाजिक सुरक्षा कोष कायम गर लगायतका प्ले कार्ड भएका नारासहित धर्ना जारी राखेका छन् । धर्ना बसेको यतिका दिन हुँदासमेत प्रशासनले उक्त शान्तिपूर्ण धर्नालाई वेवस्ता गर्दै वार्तामा नबोलाएको भनी प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न जाँदा प्रहरीले नदिएपछि उनीहरुले आज करिब डेढ बजेको समयमा प्रशासनिक भवनको मूल गेटमा तालाबन्दीसमेत गरेका छन् ।