काठमाडौं । सरकारले घरेलु मदिरा ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला उद्योगी हाबी नहुनेगरी स–साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाउने तयारी गरेको हो ।
बिहीबार मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धनात्मक विषयक छलफलमा उद्योग मन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताएका हुन् । मन्त्री रिजालले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाउने तयारी भइरहेको बताए । मन्त्री रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवद्र्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।
मन्त्रालयले बिहीबार भएको छलफलमा बिक्री प्रवर्द्धनसम्बन्धी मार्गदर्शन समेत प्रस्तुत गरेको थियो । छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्याउनुपर्ने बताए । कानुन मन्त्री गुरुङले घरेलु मदिराको उत्पादन र बिक्री प्रवर्द्धनका लागि स्पष्ट कानुन निर्माण गर्न संवेदनशील हुनुपर्ने बताए ।
छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थिति थियो ।