काठमाडौं । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ । बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर ल्याएको हो ।
सो अफर फेब्रुअरी २० सम्म लागू हुने कम्पनीका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । उनका अनुसार आधा घण्टा उडानको नेपाली पर्यटकले ९५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । अहिले १४ प्रतिशत छुट पाउँदा आठ हजार एक सय ७० रुपैयाँमा हट एयर बेलुन उड्न सकिनेछ । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नुपर्नेछ । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो । जमिनको सतहबाट नौ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमशृङ्खला हेर्न सकिन्छ । यस्तै, फिसटेल, अन्नपूर्ण तथा धौलागिरि हिमशृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ ।