काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा दोषीलाई कारवाही नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । गत पुस १३ गते भएको सो घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको हो ।
बैठक सुरु भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।
एमाले सचेतक महेश बर्तौलाले आइतबारको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै ज्वालालाई बर्खास्त गर्न माग गरे । त्यसपछि बालकुमारी घटनामा मन्त्री नै दोषी भएको भनेर छानबिन समितिले निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्री र मन्त्रीले नैतिकताको प्रदर्शन नगरेको रास्वपाका सभापति रवि लामिछानेले बताए ।