काठमाडौं, जेठ २०
नेपाल विज्ञापन संघ (आन) ले कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन गरेको लकडाउनलाई खुकुलो पार्न आग्रह गरेको छ । लामो समयदेखि भएको लकडाउनका कारण सर्वसाधारण जनता एवं उद्योग, व्यवसायीमा नराम्रो असर परेको भन्दै आनले विस्तारै सुरक्षित तवरबाट जनजीवनलाई सहज हुने गरी लकडाउन खुकुलो पार्न सरकारसँग आग्रह गरेको हो । आम नागरिकको स्वास्थ्य एवं जनजीविकालाई पुनर्विचार गर्दै लकडाउनको विकल्प खोज्न पनि आनले सरकारसँग आग्रह गरेको छ ।
उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर बन्द गरिरहँदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी, सञ्चालक, उद्योगीलाई आर्थिक रुपमा क्षतिको साथै अर्बौँको लगानी समेत डुब्ने भन्दै आनले सरकारलाई अभिभावकत्व ग्रहण गर्दै रोगको महामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई सँगसँगै अगाडि बढाउने व्यवस्था गर्न सुझाव दिएको छ । राज्यसामु अहिले आम सर्वसाधारणको बचाउ र आर्थिक क्रियाकलापको सुचारु गर्ने दुई मुख्य जिम्मेवारी रहेको भन्दै आनले उद्योग व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गरि आर्थिक गतिविधिलाई चलायमान बनाउने र सरकारले अधिक भन्दा अधिक व्यक्तिहरुमा कोरोना परिक्षण गरि रोग नियन्त्रण गर्ने काम गर्नुपर्ने बताएको छ ।
सरकारले जारी गरेको कोरोना भाइरसबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्यसम्बन्धी जानकारीलाई शिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउनका दिन संघले सरकारलाई आग्रह गरेको छ । अन्यथा देश गहिरो आर्थिक संकटमा परी आमनागरिक भोकमरीको शिकार हुनसक्ने आनले चेतावनी समेत दिएको छ ।